नियम ६
निर्वाचन अधिकृतको काम, कर्तव्य र अधिकार
(१) ऐन तथा यस नियमावलीमा अन्यत्र उल्लिखित काम, कर्तव्य र अधिकारका अतिरिक्त निर्वाचन अधिकृतको अन्य काम, कर्तव्य र अधिकार देहाय बमोजिम हुनेछ ः-
(क) आयोगबाट प्राप्त भएको मतदान केन्द्रको सूची आफ्नो कार्यालयमा प्रकाशन गर्ने,
(ख) निर्वाचन अधिकृतको कार्यालयलाई आवश्यक पर्ने सहायक निर्वाचन अधिकृत तथा अन्य कर्मचारी नियुक्त गर्ने,
(ग) नियम ५ को खण्ड (ख) बमोजिम मुख्य निर्वाचन अधिकृतको कार्यालयबाट प्राप्त विवरणको आधारमा मतदान अधिकृत, सहायक मतदान अधिकृत र अन्य सहायक कर्मचारी नियुक्त गरी मतदान केन्द्रमा खटाउने,
(घ) आयोगले उपलब्ध गराएका मतपत्र तथा अन्य निर्वाचन सामाग्री रुजु गरी बुझी लिने,
(ङ) सहायक निर्वाचन अधिकृत, मतदान अधिकृत र सहायक मतदान अधिकृतलाई निर्वाचन तथा मतदान सम्बन्धी प्रक्रियाको विषयमा अभिमुखीकरण गर्ने, गराउने,
(च) आयोगबाट प्राप्त मतपत्र लगायतका निर्वाचन सामाग्री मतदान अधिकृतलाई उपलब्ध गराउने,
(छ) मतदानकेन्द्र तथा मतगणना गर्ने स्थान र सो कार्यमा खटिने कर्मचारीको आवश्यक सुरक्षा प्रबन्धको लागि स्थानीय प्रशासनसँग समन्वय गर्ने,
(ज) मतदानको दिन विभिन्न घुम्ती टोलीसमेत खटाई मतदान केन्द्रमा मतदान कार्यको अनुगमन, निरीक्षण तथा रेखदेख गर्ने, गराउने,
(झ) मतदान कार्य समाप्त भएपछि मतदान केन्द्रबाट मतगणना गर्न तोकिएको स्थानमा प्राप्त भएका मतपेटिका बुझी सुरक्षित साथ राख्ने,
(ञ) सम्बन्धित निर्वाचन क्षेत्रभित्रका सबै मतदान केन्द्रबाट मतपेटिका सङ्कलन भएपछि मतगणना गर्ने,
(ट) मतगणना कार्य प्रारम्भ भएपछि समय–समयमा मतगणना परिणामको बारेमा मतगणनास्थलमा जानकारी गराई सोको विवरण आयोगमा पठाउने,
(ठ) मतगणना कार्य समाप्त भएपछि निर्वाचन परिणामको घोषणा गर्ने,
(ड) निर्वाचन सम्पन्न भएपछि सोको परिणाम निर्वाचन कार्यालय, मुख्य निर्वाचन अधिकृत र आयोगमा पठाउने,
(ढ) मतदान अधिकृतबाट प्राप्त भएका बाँकी निर्वाचन सामग्रीहरु निर्वाचन कार्यालयमा बुझाउने,
(ण) आयोगबाट स्वीकृत आर्थिक निर्देशिकामा उल्लेख भए बमोजिम खर्च लेख्ने र लेखा राख्ने,
(त) निर्वाचन सम्बन्धी सम्पूर्ण खर्चको आन्तरिक लेखा परीक्षण गराई सो सम्बन्धी सम्पूर्ण विवरण आयोगमा बुझाउने,
(थ) निर्वाचन पर्यवेक्षणलाई व्यवस्थित र मर्यादित बनाउन आवश्यक व्यवस्था गर्ने,
(द) प्रचलित कानूनी व्यवस्था र निर्वाचन आयोगले समय–समयमा दिएका आदेश वा निर्देशनको अधीनमा रही निर्वाचन कार्यक्रम अनुसारका सबै कार्य सम्पन्न गर्ने ।
(२) निर्वाचन अधिकृतको प्रत्यक्ष निर्देशनमा रही ऐन तथा यस नियमावली बमोजिम निर्वाचन सम्बन्धी काममा निर्वाचन अधिकृतलाई सहयोग गर्नु सहायक निर्वाचन अधिकृतको कर्तव्य हुनेछ ।